अथक परिश्रम र संघर्ष गर्दा गर्दै
बचेरालाई ढुक्कै सुरक्षित पार्दा पार्दै
मिहिनेतको पसिनाले पटुका भिजाउदै
मुस्काउॅंदै शान्त सफा आकाशमा
ताराहरुलाई अझ झिलमिलाउन ढाढस् दिन
उ गयो ।
अनि म सोधिरहे आफैंलाई
किन गयौ यति छिट्टै ?
तीन चार दिन अघिको त्यो चहकिलो मुहारले
किन झुक्कयायौ ?
कति प्रश्नहरु अनुत्तरित छोडेर
कैयन् जिज्ञासाका जाली बुनेर
गयौ त बेखबर कि गयौ ?
तिमी तयार भएर बस
एक न एक दिन भेटेर माग्छु सबैका उत्तर -
काखमा सुताएर गाउॅंखाने कथा सोध्यौ किन ?
शहर घुमाउन लगेका बेला गोजीभरि ड्राई फ्रुट्स किनिदियौ किन ?
भोज भत्तेर पार्टीमा यो मेरो नाती भनेर सबैलाई चिनायौ किन ?
हरपलका अफ्ठ्यारा र असमंझस् पार गर्ने दीक्षा दिलायौ किन ?
सबैलाई आसपास राखेर मलाई मात्र छुटाएर गयौ किन ?

No comments:
Post a Comment