Sunday, 27 December 2009

निँदाएँछु

कम्प्युटर खुल्ला राखी एकछिन निँदाएँछु
पछी कुरा गर्छु भन्दै तिमीलाई कुँराएँछु

बिदेशी भुमीको चिसोपन महसुस गर्दै
माया भएको मेरो मुटु यहि नै सेलाएँछु

भा'को थियो आज निक्कै पछी तिमीसँग भेट
धीत मर्ने गरि गफ गर्ने मौका गुमाएँछु

पछुताउदै आहिले जे जति लेखेतापनि
मैले नजानेर त्यो निस्चल मन दुखाएँछु

वाचा गर्छु उपरान्त यस्तो गल्ती हुने छैन
माफि पाउनेछु भन्ने ठानी चित्त बुझाएछु

Saturday, 26 December 2009

युग पछि फेरी तिम्रो आगमनले हँसायो

युग पछि फेरी तिम्रो आगमनले हँसायो
पत्थर सरी मुटु मेरो आज फेरी रसायो

सम्झदै छु मीठा मीठा त्यो बेलाका कुराकानी
पानाभरी मुटु भर्न त्यही कुराले जोसायो

कोलाहालमा रमायो एकान्तको प्राणी आज
हिँउ नै हिँउको रासमा न्यानोले ततायो

बारम्बार सपनीमा तिम्रै नाम कराउँदा
दु:ख दर्द यो मिलनले सबै नै बिर्सायो

चञ्चल ती नयनका चमकमा चम्कँदै
तिम्रो मेरो बीचमा विश्व ब्रम्हाण्ड हरायो

Thursday, 24 December 2009

एकान्तमा

एकान्तमा कुरी बसें प्रेमका कुरा गर्नलाई
सोच्यौ तिमीले आयो मेरो इज्जत लुट्नलाई

आँट भए मात्र पनि तिम्रो इज्जत लुट्ने
सक्थेँ होला संगीमाझ हात समात्नलाई

हेराइ सोचाइ र यथार्थ त फरक पर्ने रै'छ
क्षण भरमै तयार भएँ खलनायक बन्नलाई

अतालिँदै बिलायौ कता कता कुरै नबुझी
कति चाँडै भ्यायौ तिमीले नराम्रो भन्नलाई

माथि मडारिएको त्यो कालो बादलको कसम
बाटो खुल्यो झन् तिमीलाई पराइमा गन्नलाई

एकान्तमा कुरी बसें प्रेमका कुरा गर्नलाई
सोच्यौ तिमीले आयो मेरो इज्जत लुट्नलाई

Monday, 21 December 2009

दुईचार बात

दुईचार बात मिठो बोल्दैमा माया बस्दैन
तिमी हामीले सोच्दैमा चम्किलो तारा खस्दैन

बिदेशीको मोहमा परी कति कल्पिएपनि
गोरो छाला कालो मनमा साँचो प्रेमले डस्दैन

रात रातभर नसुती गरिरहें कुराहरु
त्यस्ता चालामालाले अब कोहीपनि फस्दैन

हाँस्दै थिए मित्र मेरा त्यो रातको अनिँदोमा
बिचरो यो संवाहक त्यो मुटुमा पस्दैन

दुईचार बात मिठो बोल्दैमा माया बस्दैन
तिमी हामीले सोच्दैमा चम्किलो तारा खस्दैन

Saturday, 19 December 2009

ढुक्क छु

ढुक्क छु म अब तिमी फर्केर आउँदिनौ
अभागी यो जन्तुलाई माया लाउँदिनौ

दोबटोमा एक्लै पारी छोडी गएपछी
मेरो नीम्ति प्रेमगीत कहिल्यै गाउँदिनौ

हात माथि हात राखी उसको बनेपछी
मेरो मानसपटलमा तिमी छाउँदिनौ

भेट्छौ होला राम्रा अनेक यो संसारमा
बाजी राख्छु अब तिमी प्रेममा हराउँदिनौ

खुशी छु म हर्सित पनि आज धेरै धेरै
मेरो सच्चा प्रेम अब तिमीले पाउँदिनौ

ढुक्क छु म अब तिमी फर्केर आउँदिनौ
अभागी यो जन्तुलाई माया लाउँदिनौ

Friday, 18 December 2009

मन लाग्यो

दुई चार घुँट आज पिउन मन लाग्यो
पापी जिन्दगीलाई भोग्न जीउन मन लाग्यो

थाह पाएँ अहिले म त रित्तो रहेछु
च्यातिएको मुटुलाई सिउन मन लाग्यो

कति कति गरें मैले मात्र तिम्रो लागि
बिर्साउन केही सर्को पिउन मन लाग्यो

आफ्नो रुमाल तिमी आँफैले नचिनेपछि
तिमीलाई मज्जाले चड्कौन मन लाग्यो

हो गल्ती थियो संवाहकको चिन्न नसक्नु
त्यही कारण त आज तर्सौन मन लाग्यो

दुई चार घुँट आज पिउन मन लाग्यो
पापी जिन्दगीलाई भोग्न जीउन मन लाग्यो

Thursday, 17 December 2009

१४

शून्य भन्दा पनि १४ अंक तल झरेको यो चिसोपनमा भौतहारिदैँ साथित्व र प्रेमको न्यानो अनुभव गर्न खोज्दै छु । सदाझैं टुक्रिएका मुटुका टुक्राहरु छातीमा बिझ्दै थिए । मनले त्यही टुक्राहरु बिस्तारै निकाल्दै एक्लै घोत्लिरहेको छु । लाग्छ त्यो बिशाल नदीले मलाई नै बोलाइरहेछ त्यसको गहिरो कालो पातलमा बास बस्न । गहिराइ नाप्ने आँट त थिएन मसँग तर पनि येसो हौँसिएको जस्तो भान भएर एकटकले नयनमा नयन मिलाएर निडर रूपमा बसेको छु । गोमन सर्पझैँ सुसाएको त्यो भयावह जलपुण्ज लाग्छ मेरै सिकार गर्न कुरिरहेछ ।

Saturday, 12 December 2009

धन्य म !

आज कालो बिरालोको दर्शन पाइयो। यो बिरानो देशमा आज दोश्रो पटक होला सायद म डराएको । २/४ दिन अगाडी झन्डै गाडीले दनक दिएको कुरालाई त मैले भुलिसकेको थिएँ। तर अचानक त्यो सानो कालो बिरालोको बडाबडा आँखाले मलाई निक्कै डर देखायो। झ्वाट्ट ढोका खोल्दा ति आँखाहरु त मलाई पो नियाली रहेका रहेछन । मुटुको गति नाप्ने यन्त्र भएको भए १२० भन्दा कम देखाउँदैनथ्यो होला । जीवनमा कहाँ बाट के हुन्छ कसैलाई थाह छैन । तेस्ता नाथे बिरालो संग डरायो भन्दै हुनुहुन्छ होला तर मलाई त्यस बखत त्यो जन्तु नाथे लागेन । जे होस् जीवनको अर्को पाटो पनि अगाडी ल्याइदियो त्यो बिरालोले । मैले उसलाई धन्यबाद नदिईरहन सकिन।