Sunday, 29 November 2009

आँफैलाई फर्केर हेर्दा ......

रमेश सधैं हामीसंगै हुन्थ्यो । हामीले मायाको कुरा साटासाट गर्दा अल्छिलागेको जस्तो पनि गर्दैन थियो । हाम्रो मधुर वार्तालाप छोडेर म सहानुभूतिका आँखाले उसलाई हेर्ने गर्थें । चहान्थें उसको पनि एउटि सज्जन र सुशिल साथी होस् । अनुपमले रमेशलाई नलिइ कतै पनि हिड्दैनथ्यो । बजारमा समोसा खाँदा पनि म उसको चासो नलिइ रहन सक्दिनथें ।

जब मैले +२ उतिर्ण गरें , मेरो जीवनले अर्कै मोड लिन थाल्यो । अनुपम गाउँ गयो आमा बिरामी भनेर । मैले छिट्टो आउ है भनेर मायाको भावले बोल्दा उसलाई अर्कै पिडाले सताएको जस्तो गर्‍यो । सोचें निक्कै सिरियस हुनुहुन्छ आमा अनि मेरा बोली ठप्प भए । २\४ दिन गर्दै २ हप्ता बिति सकेछ, मेरा नयनले उसैलाई त्यही मन्दिर नजिकको फूलबारीमा देख्ने चाहाना झन ब्यग्र रुपमा माग गरिरहेका थिए । जसोतसो पापी आँखाहरुलाई सम्झाएर मन मनै पिल्सिदै बस्दै थिएँ । गएको २४औ दिनमा मेरो मन शान्त पार्न उसको आगमन भयो । त्यसदिन अनुपम र रमेश संगै आएनन् , अनुपम एक्लै आयो । मैले ध्यान नै दिइन रमेश आयो कि आएन । मलाई त बस अनुपम नै चाहिएको । तर आज अनुपमको आँखामा पहिलेको जस्तो तेज थिएन, मैले सोधें के भयो ? उसले केही हैन भनेर टार्यो । एकछिनमा रमेश हस्याङ्फस्याङ गर्दै आयो,अनि अनुपमलाई झपारेजस्तो गरि सोध्यो किन मलाई नबोलाएको ? मैले मन मनै बिचार गरेँ, आज किन दुइजना छुटेछन ? त्यो साँझ केही नबोलीकन बित्यो । सधैं सधैं त्यस्तै हुन थाल्यो , म सोधिरहन्थेँ अनी उ टारीरहन्थ्यो । उसको प्रेममा यती धेरै लट्टु भएछु कि मेरो बी बी एस प्रथम बर्षको परिक्षा भुसुक्कै भएछ । घरमा यती धेरै गाली खाएँ , बुवाले झन्डै कुट्नुभएको । तैपनि म लुकी लुकी अनुपम लाई भेट्न गैरहन्थेँ । रमेश पनि उही परले अली अली ढिला आउन थालेको थियो । हामीलाई कहीले पनि एक्लै हुन दिएको थिएन । मलाई उसको यो हाउभाउ त्यती मन पर्दैन थियो तर पनि अनुपमको मायाले मलाई चुपनै बस्न बिवस गराएको थियो ।

बी बी एस दोस्रो बर्षमा पढाई चलिरहेको थियो अनुपमलाई फेरी घरबाट चिट्ठी आयो । यसपटक मलाई नभनिकन उ गयो, अनी निक्कै दिन आएन । मैले पत्ता लगाउन खोजेँ तर केही गर्दा पनि भएन । मैले जमर्को गरेँ पत्ता लगाएरै छोड्छु । उपाय खोज्ने क्रममा मैले आफ्ना कलेजका साथीहरु सँग सल्लाह लिन थालेँ । त्यती मिल्ने साथी नभएपनि रितीमाले मलाई सहयोगको वाचा गरि । केही शान्त भएपनि मन मेरो आझै दोधारमा थियो । एक हप्ता पछी रितीमा मेरै घरमा आइ । कोठाको चुकुल लगाएर सबै कुराको उत्सुक्ता मेट्न आतुर थिए म । जब रितीमाको मुखबाट पहिलो वाक्य खस्यो , मेरो आँखा रसाये । सबै कुरा सुन्दा त म छाँगो बाट खसेजस्तो भएँ । मेरो आँशु थामिने नाम नै लिएन । मलाई आफु भन्दा बढी माया गर्छु भन्ने ले त गाउँमा अर्कैसँग पिरती गाँसेको रहेछ । म समक्ष बिस्मात् बाहेक केही रहेन । त्यस्ता कैँयौ रात आँशुसंगै बगे । एकचोटि त सोचें यस्तो जीवन के कामको ? तर फेरी मनन गरेँ यसमा मेरो के गल्ती आफ्नो जिन्दगी खेर फालेर घाऊमा मलम लाग्ने पनि हैन । आफुलाई झन् मजबूत पारेर यो पापी संसार भोग्न तयार भएँ ।

दिनहरु बित्दै थिए , म सुन्दर सपनाको सपना बोकेर काठमाडौं आइपुगेँ । स्वर्णिम बाटो बुन्ने क्रममा निक्कै ब्यस्थ भएको बखत मलाई अगाडिको गन्तब्य मात्र देखिन्थे । पछाडि फर्केर हेर्ने फुर्सद नै थिएन । अधुनिक समयमा हिड्डै जाँदा मेरो संसारले काँचुली फेरिसकेको थियो । म आफ्नै कोठामा बसेर जीवनका खाकाहरु कोर्दै थिँए मेरो मोबाइलमा टीन टीन टीन टीन गर्‍यो, सन्देश आएछ । रितीमाको मोबाइलबाट आएको सन्देश निक्कै रोचक लाग्यो । पहिला चुट्किला अनी मेरो सन्चो बिसन्चो सोधिएकोले मैले रमेश भन्ने चिन्न गार्हो परेन । उ हामी संगै हुँदा सधैं चुट्किला सुनाउथ्यो अनी हामीलाई राम्रो मनोरन्जन प्रदान गर्थ्यो । मलाई अनुपमको कुक्रित्यले निकै मर्महात पुर्याएकोले उसको बेस्ट फ्रेन्डसँग पनि कन्सिरी तातेको थियो । मलाई त्यो सन्देशले इरिटेट गर्‍यो र मैले फोन गरेर झपारिदिएँ । उसले केही भन्न खोज्दै थियो तर बीचमै मैले फोन काटिदिएँ । अर्को दिन रमेशले आफ्नै मोबाइलबाट फोन गर्‍यो , मैले उठाँइन । एक हप्ता जस्तो सधैं फोन आउथ्यो तर मेरो हातले रातो बटनमात्र दबाउथ्यो । महिनादिन पछि मेरो सामु एउटा केटो उभियो र सोध्यो लक्ष्मी मलाई चिन्यौ ? म अक्क न बक्क भए । मैले सोचेको थिएन की रमेश काठमाडौंमा मलाई भेट्न आउनसक्छ भनेर । निक्कै करपछि उसंग एक कप चिया खानै पर्ने भयो मैले । उ सुनाउदै जान्थ्यो अनुपमका कुराहरु, त्यो पुरानो शहरका कुराहरु म सुन्दै जान्थेँ । अनुपमले निकै मिस गर्दै छ तिमीलाई भन्दै थियो मैले सुनेको नसुनेकै गरिदिएँ । जाने बेलामा उसले भन्यो , ' म पनि तिमीलाई मन पराउथेँ तर अनुपमले पहिला प्रपोज गरेको भएर मेरो कुरा मनमै गाड्न बिवस भएँ । आखिर मिल्ने साथी न पर्‍यो । तिमीहरुसंगै हिड्ने गफ गर्ने कारण पनि तिम्रै नजिक आउनको लागि हो । ' मैले केही सोच्नै सकिँन र हाँसेर टारिदिएँ । रातभर निन्द्रा नै लागेन । कस्तो विडम्बना , फेरी कहाँ आएर फसेँ ? तर मेरो भाग्य भनौँ की के भनौँ त्यो दिन देखि रमेश मेरो अगाडि परेन न त फोन गर्ने वा सन्देश पठाउने चेस्टा गर्‍यो ।

आज निक्कै चिसो बडेको छ । वरपर क्रिस्मस ट्री हरु पनि सिङारिदै छन् । कफि सुरुप्प पार्दै कोठामा बसेर अतितमा घुम्न मन लग्दै छ । बर्षौ अगाडि मेरा स्कुलका दिनहरुका यस्तै जाडो सम्झना भैरहेछ । ६ कक्षामा निक्कै रमाइलो हुन्थ्यो । स्कुलबाट फर्केर आउँदा जिस्क्याउदै जिस्कँदै घरसममा आएको पत्तो नै लाग्दैन थियो । कहीले छुट्टी हुन्छ र दिनभर खेल्न पाइन्छ जस्तो लग्थ्यो । अझ म त सधैं उत्पल संगै खेलेर बस्थेँ , मेरो घरपछाडीको करेसाबारी नै हाम्रो संसार हुन्थ्यो । दिनहरु बित्दै जादैँ थिए, उत्पल र मेरो साथ निक्कै झाङिदै गयो । हामी संगै एउटै बेन्चमा बस्ने गर्थ्यौँ । ग्रिहकार्य पनि संगै बसेर गर्थ्यौ । मेरो मनमा लागेका सबै कुराहरु म भन्थेँ उसलाई अनि उ पनि म सँग निकै फ्र्यान्क थियो । एस् एल सी दिने दिन पनि आइसकेछ, संगै दिन्भर पढेर बसिन्थ्यो । साँझमा बजारतिर यसो खुट्टा तन्काउन गइन्थ्यो । परिक्षा पनि राम्ररी सकियो अनि अब क पढ्ने भन्ने बारे सोच बिचार हुन्थ्यो , गफ हुन्थ्यो । उत्पल ,'म साईन्स पढ्छु ' भन्थ्यो अनी मलाई साईन्स पढ्नै मन थिएन । एवं रितले नतिजा पनि आयो, अब म कमर्श क्यम्पस खोज्न थालेँ र उत्पल साईन्स । हाम्रो दुनियाँ छुटीने पक्क पक्की भयो । त्यसपछि म आफ्नो संसारमा रमाउन थालेँ । कहीले काँही मलाई भेट्न आउथ्यो मेरो घरमा अनि निक्कै बेर गफ गर्थ्यौं । म जिस्क्याउथेँ कति जना गल फ्रेन्ड बनायौ ? उ केही नबोली चुप लागि रहन्थ्यो । ११ कक्षा जाँच चलिरहेको बेलामा उसले मलाई राम सरोबरको चिया पसलमा भेट्न बोलाएको थियो तर मेरो एक्जाम भएकोले जान पाईन । जाँच सकिएको भोलीपल्ट उत्पललाई भेट्न म उसकै घरमा गएँ तर बाबाले भन्नु भयो,' उ त काठमाडौं गयेको छ शायद उतै पढ्छ होला १२ क्लास । ' उसले भन्ने गर्थ्यो ,' सानीमा हुनुहुन्छ काठमाडौंमा उतै गयेर पढ्नु पर्ला जस्तो छ । यहाँको पढाई चित्त बुझ्दो पनि छैन । ' मैले सोचें अस्ति राम सरोबरको पसलमा डाकेको कारण पनि काठमाडौं जान्छु भन्नलाई होला । त्यती खेर म सँग मोबाइल पनि थिएन अनि उसले उसको काठमाडौंको फोन नम्बर पनि छोडेको थिएन । त्यसैले उसलाई भेट्ने वा कुरा गर्ने समय सकिएको जस्तो लाग्यो ।

अचानक ३ बर्ष पछि उत्पल मेरो सामु उभियो । त्यो बीच बजारमा म के भनौँ कसो भनौँ जस्तो गरि अलमल्ल परेँ । मनमा त निक्कै कुरा आएको थियो सोध्नलाई तर उसैले पहिला ,' के छ लक्ष्मी ' भनेर सोध्यो । मैले ठीक छ भनेँ । उसले फेरी थप्यो मेरो त अमेरिकाको भिसा लाग्यो आजको १५ दिनमा त म उड्छु । म त तिमीलाई भेट्न आएको । अचम्म लाग्यो उसको कुराले, अमेरिकाको भिसा लागेको उसको अनि भेट्न मलाई आएको । जे होस् राम्रै भएछ भन्ने सोचें । उसले मलाई आफ्नो मोबाइल नम्बर दियो र भन्यो फोन गर है म जाने बेलमा । मैले केही बोलिन र टाउको हल्लाएँ । मैले साथीहरुसँग उत्पल आएको कुरा गरेँ अनी सुनाएँ मलाई भेट्न आएको रे । मेरो कुरा सकिन नपाई प्रेक्ष्याले भनि ' किन नआओस त आफुलाई माया गर्ने मान्छेलाई भेट्न । ' यो सुनेपछी त म छङो बाट झरेको जस्तो भएँ । अनी उसले थपी तँलाई थाहा छ एउटा कुरा, एक्जाम को दिन भेट्न बोलाएको थियो नि, प्रपोज गर्नलाई तँलाई । मलाई छट्पटीले घेर्यो, के गर्नु कसो गर्नु जस्तो भयो । खान सुत्न मन लाग्नै छोद्यो । सधैं जसो म बहिनीसँग त्यही बारे नै कुरा गर्थें । निक्कै दिन बित्यो त्यस्तै सोच्दा र कुरा गरिरहदाँ ।

आज १३औ दिन भैसकेछ र मैले उसलाई फोन गर्छु भनेर सोचेँ । उसले फोन उठायो तर उसको बोली अली मलिनो थियो । सोधेँ किन निरास छौ भनेर । उसको त बाईक एक्सिडेन्ट भएछ , टाउको, हात र खुट्टामा निक्कै चोट आएको रहेछ । म त अस्पतालमा छु भन्यो । मैले सोधेँ , अब नजने त ? जान्छु तर तिहारपछि । ६ महिना भित्र जहिले गएपनि हुन्छ । तर तिमीलाई थाह छ, ' म पहिलेदेखि नै तिमीलाई निक्कै मनपराउथे तर हामी बेस्ट फ्रेन्ड्स थियौँ र मलाई पनि तिमी मेरो बेस्ट फ्रेन्ड कै रुपमा देख्न चहान्थेँ । तर त्यस दिन मैले आफुलाई रोक्नै सकिँन तर मेरो दुर्भाग्य तिम्रो एक्जाम रहेछ र भेट्नै सकिँन । अहिले यहाँ आउनुको कारण पनि तिम्रै माया हो । म अहिलेपनि तिमीलाई उत्तिकै माया गर्छु । तिमी जे भएपनि राम्रो मान्छे खोज्नु र रमाइलो सँग बस्नु ।' येती भनेर उसले फोन काट्यो म त केही बोल्ने स्तिथिमा थिएन । मलाई निक्कै नरमाइलो लागिरह्यो । म केही सोच्ने अवस्थामा थिएन । त्यो महिना मैले आफ्नो घरपरिसरमै कटाएँ ।

अहिले म यो कोठा म बसेर लेखिरहँदा उ पनि अमेरिकामा होला । कहीले काही पछुतो पनि लाग्छ त्यस्तो माया गर्ने मान्छेलाई चिन्न नसकेकोमा । तर ठिकै छ म आफ्नो दुनियाँमा आफ्नो भविश्य निकट छु र अहिले धेरै खुशी छु । जिन्दगीलाई फर्केर हेर्दा को अनुभव निक्कै रमाइलो तर अलि बेदनाको धरातलमा डुब्नु पर्ने रहेछ भन्ने निर्क्योल म पुगेको छु ।

2 comments:

  1. Tapai ko lekhai ma x-factor cha.
    Padhdai jada manche haraudo raicha...wish you all the best for future :)

    ReplyDelete
  2. perfectly written...
    padhna suru gare dekhi sakkidaa samma ekchhin pani yata utaa dhyaan gayena..fully involved within the plot and characters..THUMPS UP...

    ReplyDelete